काठमाडौं,४ मंसिर । १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार राती सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले पाखा लगाउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो ।
यो उसको छैठौं पटकको उपाधि हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा अलआउट हुँदै २४० रन जोडेको थियो । जवाफमा अस्ट्रेलियाले ७ ओभर बाकी रहँदै लक्ष्य पूरा गर्यो । भारतका लागि केएल राहुलले ६६ र विराट कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन जोडेका थिए । २४१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ट्राभिस होडले शानदार प्रदर्शन गर्दै १३७ रन जोडे ।
भारत समूहचरणमा खेलेका ९ वटै खेलमा शतप्रतिशत जित निकाल्दै फाइनलमा पुगेको हो । भने अस्ट्रेलियाले सूरुवातका दुई खेलमा पराजय भोगेको थियो । अस्ट्रेलियासँगको हारपछि भारतका कप्तान रोहित शर्माले टिमले सोचेअनुरुपको प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन् । उनले आफ्नो टिमले हार ब्यहोरेपनि भारतीय टिमप्रति आफूलाई गर्व रहेको बताएका छन् ।
खेलपछि रोहित शर्माले भने, ‘खेलको नतिजा हाम्रो पक्षमा थिएन र हामीलाई थाहा छ आज हामी राम्रो थिएनौँ । तर मलाई टोलीमा गर्व छ। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरे तर जे भयो त्यो त्यहाँ हुनुहुँदैन थियो ।’