Logo

काठमाडौंका सिडिओले तोके- महेश बस्नेतलाई तीनकुने, दुर्गा प्रसाईलाई बालाजु



काठमाडौं, ५ मंसिर । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले दुइटा पक्षको विवाद, मुठभेड र भिडन्त रोक्न माइतीघर मण्डला क्षेत्रमा धर्ना, जुलुस, विरोध, अनसन, र्‍याली आदि गतिविधि गर्न नपाउने गरी निषेधादेश जारी गरिएको बताएका छन् ।
‘मंसिर ७ गते दुइटा पक्षले माइतीघर क्षेत्रलाई केन्द्र मानेर कार्यक्रम गर्दा आपसी विवाद, मुठभेड र भिडन्त हुन सक्ने पूर्वसूचना अनुसार हामीले पाँच जनाभन्दा बढी व्यक्ति भेला वा जम्मा हुन पनि नपाउने गरी निषेध आदेश जारी गरेका छौं । त्यहाँ रहेका अनसनकारीलाई शान्तिवाटिकामा व्यवस्था गरेका छौं । अब कसैले पनि त्यहाँ कुनै पनि प्रकारका गतिविधि गर्न पाउँदैनन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
प्रजिअ बस्नेतले शान्तिपूर्ण कार्यक्रमका लागि दुवै पक्षलाई ठाउँ उपलब्ध गराउने पनि बताए । उनले थपे, ‘माइतीघर मण्डला क्षेत्रमा सर्वोच्च अदालत एवं अन्य महत्त्वपूर्ण सरकारी कार्यालय छन् । तिनलाई सुरक्षित राख्नु स्थानीय प्रशासनको कर्तव्य हो । तर शान्तिपूर्ण कार्यक्रमका लागि हामी ठाउँ उपलब्ध गराउँछौं । युवा संघलाई काठमाडौं पूर्वको तीनकुने क्षेत्र तोकेका छौं, अर्को समूहलाई काठमाडौं पश्चिम बालाजु क्षेत्र तोकेका छौं । आज बिहानसम्म दुवै पक्षसँग समन्वय हुन्छ ।’
दुवै पक्षले अहिलेसम्म हिंसात्मक, ध्वंसात्मक, अराजक र उच्छृंखल कार्यक्रम नगर्ने प्रतिबद्धता जनाएको पनि बस्नेतले बताए । उनले भने, ‘दुवै पक्षले तोकिएको स्थानमै कार्यक्रम गर्नुपर्छ । हामी दुवै पक्षको कार्यक्रमका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउँछौं । तर कार्यक्रम शान्तिपूर्ण भएन, अशान्ति फैलियो, अमन चैनमा खलल पुग्यो र गैरसंवैधानिक हर्कत भयो भने त्यसलाई रोक्न पनि सक्छौं ।’
जुनसुकै माग राखेको भए पनि शान्ति भंग हुने स्थितिमा त्यसलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्र सक्षम रहेको प्रजिअले बताए । उनले भने, ‘राजनीतिक विषयमा म प्रवेश गर्दिनँ । सुरक्षाको कोणबाट मात्र कुरा गर्छु । लोकतन्त्रमा आफ्नो कुरा राख्ने अधिकार सबैलाई छ । तर सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलाइएको छ । जुनसुकै माग राखेको भए पनि शान्ति भंग हुने स्थितिमा त्यसलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्र सक्षम छ । स्थानीय प्रशासन ऐन अनुसार थप उपाय गर्छौं । शान्ति सुरक्षाको स्थिति बिग्रन दिँदैनौं ।’



प्रतिक्रिया दिनुहोस्