काठमाडौं, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले देवेन्द्र पौडेलले विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १७ वर्षमा देशले केही पनि पाएन भन्ने भाष्य गलत रहेको औंल्याएका छन् ।
‘१७ वर्ष यता देशमा केही पनि भएन त ? हामीले जनतालाई सधैंभरि निराशा मात्र बाँड्नुहुँदैन । मुलुकमा एकात्मक राज्य प्रणालीको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । दुई आवधिक निर्वाचनमार्फत तीन तहको सरकार बन्यो । हतियार र सेना समायोजन भइसकेको छ । मुलुक लोडसेडिङमुक्त भएको छ, बिजुली बेच्न खोजिरहेका छौं । प्रत्येक वडा कार्यालयसम्म कच्ची सडक पुगेको छ । जुन रुपमा हुनुपर्थ्र्यो, त्यो नभएको चाहिँ यथार्थ हो । अब मुलुकलाई सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समाजवादी बाटोमा हिँडाउन बाँकी छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने । संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया चाँडो टुंग्याउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।
नेता पौडेलले विचार, लक्ष्य र दृष्टिकोण नै नभएका व्यक्तिहरुले समाजमा भड्काव सिर्जना गर्न खोजेको आरोप लगाए । उनले थपे, ‘मुलुकमा आलोचनाको स्वतन्त्रता छ । तर मंसिर ७ गते नै उनीहरुले राजालाई नारायणहिटीमा लगेर कसरी राख्न सक्छन् ? व्यवस्था नै बदल्न संगठित शक्ति चाहिँदैन ? हावाको तालमा व्यवस्था फेर्दिन्छु भनेर सम्भव छ र ? न विचार, न लक्ष्य, न दृष्टिकोण भएका व्यक्तिहरुले राजा फर्कन्छन् भनेर हल्ला गर्नु झूट, बेइमानी र भड्काउने कुरा मात्र हो ।’ त्यस्ता अराजक गतिविधि नियन्त्रणका विधि र कानुनी बाटो अपनाउनुपर्ने पनि उनले औंल्याए ।
राजसंस्था फर्केमा मुलुकले अरु पाँच सय वर्ष दुःख पाउने उनको दाबी छ । पौडेलले भने, ‘अढाइ सय वर्षसम्म गरेका अन्याय, दमन अनि कोतपर्वदेखि नारायणहिटी काण्डसम्मको इतिहास पढ्न आवश्यक छ नयाँ पुस्ताले । राजसंस्था फर्के अरु पाँच सय वर्ष दुःख पाउँछन् जनताले । दलको विकल्प दल नै हो । न हामी पञ्चायतमा फर्कन सक्छौं, न त राणाकालमै फर्कन सक्छौं । तपाईंले भनेको पात्रले हामीलाई जिस्काउँदै हुनुहुन्छ । त्यस्तो भयो भने हामी रमिते भएर हेर्छौं होला त ? अति भयो भने परिवर्तनकारी दलहरुले प्रतिवाद गर्ने छन् । तर कुनै पनि हालतमा राजसंस्था फर्कंदैन ।’