Logo

फुटबाट जोगियो नेसपा, माओवादीसँग एकता गर्न भट्टराईको नेतृत्वमा समिति गठन हुने



काठमाडौं,५ मंसिर । नेपाल समाजवादी पार्टी (नेसपा ) मा देखिएका विवाद तत्कालका लागि समाधान हुने भएको छ । सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा दुई अध्यक्ष बाबुराम भट्टराई र महिन्द्रराय यादवबीच मतभिन्नता देखिएपछि संकटमा परेको नेसपा तत्कालका लागि विभाजनबाट जोगिएको छ ।

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष तथा खानेपानीमन्त्री महिन्द्र्र राय यादवबीच सोमबार राती भएको निर्णायक छलफलमा माओवादीसँग पार्टी एकता गर्न भट्टराई सहमत भएका छन् । त्यसका लागि भट्टराईको नेतृत्वमा एकता समायोजन समिति गठन गर्ने सहमति भएको छ । जसमा अर्का अध्यक्ष यादवपनि सदस्य रहनेछन् ।

नेसपाले आज पदाधिकारी बैठकसमेत डाकेको छ । उक्त बैठकमा सङ्गठन सुदृढीकरणका लागि ६ महिने अभियान जारी राख्ने, राष्ट्रिय भेला बोलाउने लगायत एजेण्डमा छलफल हुनेछ । दिउँसो ३ बजे बस्ने कार्यकारिणी बैठकले यो निर्णय अनुमोदन गर्ने बताईएको छ । कार्यकारिणी बैठकको निर्णय ६ गते बस्ने केन्द्रीय कार्यकारिणी बैठकले अनुमोदन गर्नेछ ।

आम निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर भाग लिने र चुनावपछि दुई पार्टीबीच एकता गर्ने भट्टराई र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको थियो । तर, चुनावपछि प्रचण्डसँग पार्टी एकता गर्न भट्टराईले चासो देखाएका छैनन् ।

भट्टराईले चासो नदेखाएपनि अर्का अध्यक्ष यादवसँगै सहअध्यक्ष तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठसहितका बहुमत पदाधिकारीहरु माओवादीसँग पार्टी एकता गर्नुपर्ने पक्षमा छन् ।

नेसपामा एकताबारे विवाव बढ्दै जाँदा गत भदौंमा माओवादी केन्द्रले कार्यकारी अध्यक्ष बाबुराम भट्टराईलाई पन्छाउँदै अर्का अध्यक्ष महिन्द्रराय यादवलाई पत्र पठाएको थियो । माओवादीको उक्त पत्रपछि बिच्किएका बाबुरामले पार्टी एकताको सोच त्यागीसकेको उनी निकट स्रोतले बताएको छ ।

२०७२ असोज ३ मा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै माओवादी केन्द्र त्यागेका बाबुरामले त्यसपछि नयाँ शक्ति हुँदै जसपासँग पार्टी एकता गरेका थिए । तर, जसपासँग पनि लामो समय सँगै रहन नसकेका भट्टराईले २०७८ मा पार्टी फुटाउँदै नेसपा गठन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्