Logo

भुटानी शरणार्थी प्रकरणका आरोपीले दायर गरेको मुद्दामा आजबाट निरन्तर सुनुवाइ, खरेल र पाण्डेको इजलासमा पेशी



काठमाडौं,५ मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपीले दायर गरेको पुनरावेदन मुद्दामा आजबाट निरन्तर सुनुवाई हुने भएको छ ।

उच्च अदालत पाटनमा यसअघि ६ पटकसम्म पेशीमा परेरपनि सुनुवाइ स्थगीत हुँदै आएकोमा आजबाट निरन्तर सुनुवाइ हुन लागेको हो । आरोपीतहरुले पुनरावेदनमा कारागार बाहिरै बसेर मुद्दा लड्न पाउनेपर्ने माग राखेका छन् । उक्त रिट न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा सुनुवाइ हुनेछ ।

यस प्रकरणमा पक्राउ परेका केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन बाहेक अरु सबैलाई पुर्पक्षका लागि थुनामा पठाउन १ असारमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले आदेश दिएको थियो । उक्त आदेशपछि आरोपीतहरु हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकराण्मा पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री राईका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पुर्पक्षका लागि थुनामा छन्।

सबैको निवेदनमाथि आजदेखि एकैपटक सुनुवाइ हुन लागेको उच्च अदालतले जनाएको छ। अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ।

उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ।



प्रतिक्रिया दिनुहोस्