काठमाडौं,५ मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको आरोपमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण , पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतले दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा सुनुवाइ सुरु भएको हो । यसअघि ६ पटकसम्म पेशीमा परेपनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।
यस प्रकरणमा पक्राउ परेका केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन बाहेक अरु सबैलाई पुर्पक्षका लागि थुनामा पठाउन १ असारमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले आदेश दिएको थियो । उक्त आदेशपछि आरोपीतहरु हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकराण्मा पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री राईका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पुर्पक्षका लागि थुनामा छन्।
सबैको निवेदनमाथि आजदेखि एकैपटक सुनुवाइ हुन लागेको उच्च अदालतले जनाएको छ। अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ।
उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ।