Logo

संवैधानिक नियुक्तिमा भागबन्डाले मुलुकलाई धराशयी बनाउँछ : कँडेल



काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले भीआईपीको घरायसी काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनु उचित हुने बताएका छन् ।
‘संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबारे चासो लिएको छ । यो राम्रो कुरा हो । गृह प्रशासनले भीआईपीलाई थ्रेट र पोजिसन, हिजोको भूमिका र अवस्थाका आधारमा सुरक्षा दिने हो । कति समयसम्म र कति जना दिने मापदण्ड हुन्छ । अहिले त शान मान देखाउनका लागि मापदण्डबाहिर गएर सुरक्षा लिएको देखिएको छ । घरायसी काममा प्रयोग गरिएको छ भने तत्काल फिर्ता बोलाउनु उचित हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता कँडेलले आन्दोलन गर्दैमा बैंकबाट लिएको कर्जा र ब्याज छुट हुन नसक्ने पनि औंल्याए । उनले थपे, ‘समाजलाई सही ट्र्याक ल्याउन कहिलेकाहीं आन्दोलन हुन सकछ । तर हामीले त्यसको नेतृत्व गर्ने व्यक्तिको पनि पहिचान गर्नुपर्छ । गलत प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ ।’
अर्को प्रसंगमा उनले संवैधानिक निकायमा भागबन्डाका आधारमा नियुक्ति गर्दा नतिजा गलत आउने चेतावनी पनि दिए । कँडेलले भने, ‘संवैधानिक निकायमा स्वच्छ प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्छ । सत्तामा पनि गठबन्धन गर्ने, संवैधानिक निकायमा पनि भागबन्डा गर्दा त्यसले मुलुकलाई धराशयी बनाउँछ । यसमा हामी सचेत हुनैपर्छ ।’



प्रतिक्रिया दिनुहोस्