Logo

युवा-विद्यार्थीको कार्यक्रम असफल पार्न घुसपैठ हुन सक्छ : थेवे



काठमाडौं, ७ मंसिर । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले आज राज्यको अकर्मण्यताको विरोधमा आज शान्तिपूर्ण कार्यक्रम गरिने बताएका छन् ।
‘राज्य फेलियर स्टेटमा जान थाल्यो । १० चोटि महँगी बढ्यो । महँगीले जनजीविका चलाउन नसक्ने अवस्था सिर्जना भयो । आम जनतामा महँगी नियन्त्रण, सुशासन र सामाजिक न्यायको आभास हुन सकेको छैन । हाम्रो प्रदर्शन महँगी, बेथिति र भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण कार्यक्रम हो । तर यो जनप्रदर्शन वा आमसभा होइन । काठमाडौंबाहिरबाट मानिस ल्याएका छैनौं, २५ हजार युवा विद्यार्थी जम्मा हुन्छन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
युवा संघले दुर्गा प्रसाईको कार्यक्रमसँग जुधाएको नभई दुर्गा प्रसाईले युवा संघको कार्यक्रम जुधाएको थेवेले बताए । उनले थपे, ‘हामीले कात्तिक २ गते नै पदाधिकारी बैठकबाट बृहत् शान्ति सम्झौता भएको दिनमा कार्यक्रम गर्ने घोषणा गरिसकेका थियौं । तर अहिले हामीले कसैसँग कार्यक्रम जुधाएको भनेर भ्रम छरिँदै छ । हामीसँग कार्यक्रम जुधाएर झडप हुन्छ, राजा ल्याउँछौं आदि इत्यादि भनेर जनतालाई आतंकित पारिँदै छ ।’
साथै उनले दुर्गा प्रसाईले फाउन्डेसन र अभियानका नाममा दुईदुईवटा क्युआर कोड सामाजिक सञ्जालमा फिँजाएर अवैध चन्दा असुली गरेको आरोप पनि लगाए । थेवेले भने, ‘व्यक्तिको विषयमा म कुरा गर्दिनँ, व्यवस्थामाथि खुलेआम आक्रमण भएको छ । चरित्रहीन, नैतिकहीन र अनुशासनहीन व्यक्तिले यसको नेतृत्व गरेका छन् । मुलुकमा कानुनी शासन हुन्थ्यो भने उनी आर्थिक अपचलनमा जेल जानुपर्ने मान्छे हो । तर यहाँ अभियन्ताका नाममा समाजमा भड्काव ल्याउन खोजेको छ । जसले बैंकलाई जनताले जम्मा गरेको अर्बौं ऋण तिर्न बाँकी छ, पुरानो राष्ट्रिय गान बजाएको छ । राज्यले यस्तो आउरे भाउरे अराजक गतिविधिलाई तुरुन्त नियन्त्रणमा लिनुपर्छ । यो व्यक्तिको होइन, प्रवृत्ति हो ।’
युवा संघको विरोध कार्यक्रम महेश बस्नेतको व्यक्तिगत एजेन्डा नभएको पनि थेवेको दाबी छ । उनले भने, ‘हाम्रो कार्यक्रमलाई कुनै व्यक्तिको विरोधमा हो जस्तो गरी कुप्रचार गरिएको छ । व्यक्तिलाई ड्यामेज गरेर एमालेमाथि प्रहार गरिएको छ । हामीबाट कुनै पनि किसिमको अराजक गतिविधि हुनेवाला छैन । हामी जिम्मेवार राजनीतिक संगठन हो । युवा संघसँग नाम जोडेर अभीष्ट पूरा गर्न नखोजे हुन्छ ।’ युवा-विद्यार्थीको कार्यक्रमलाई बदनाम गरेर असफल गराउने घुसपैठ हुन सक्ने भएकाले आफूहरु चनाखो रहेको पनि थेवेले बताए ।



प्रतिक्रिया दिनुहोस्