काठमाडौं, ७ मंसिर । यादवप्रसाद पन्तको ९९औं जन्मजयन्तीको अवसरमा डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले आयोजना गरेको अभिनन्दन तथा सम्मान समर्पण समारोह शनिवार राजधानीमा सम्पन्न भएको छ । राजधानीको डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संंघमा सम्पन्न सो समारोहका प्रमुख अतिथि शताब्दी पुरुष डा. गौरीशंकर लाल दासले विकास अभियन्ता तथा लक्ष्मी विक, राष्ट्रसेवक रत्नशमशेर राणा र पत्रकार कुन्द दीक्षितलाई सम्मान गर्नुभएको थियो ।
प्रतिष्ठानकी अध्यक्ष मीरा अज्र्यालको सभापतित्वमा भएको सो समारोहका सञ्चालक तथा उद्घोषक यादव भट्टराई हुनुहुन्थ्यो । गोविन्दप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको सो समारोहको सुरूमा राष्ट्रिय गान बजाइनुका साथै डा. पन्त तथा उहाँकी श्रीमती रमादेवी पन्तको तस्बिरमा माल्यार्पण गरिएको थियो । समारोहमा नवलपरासी जिल्लाको पाल्ही क्याम्पसमा अर्थशास्त्र विषयमा अध्ययनरत उत्कृष्ट एक÷एक छात्रछात्रालाई अध्ययनार्थ छात्रवृत्तिको रकम दिइएको थियो । सो अवसरमा डा. पन्तबारे प्रकाशित कृति व्यक्ति एकः दृष्टि अनेक कृति लोकार्पण गरिएको थियो । तीन सय ४५ पृष्ठ रहेको यस कृतिको प्रकाशक यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नै रहेको छ ।