काठमाडौं, ८ मंसिर । नेपाल लघुवित्त संघका अध्यक्ष जगतबहादुर पोखरेलले लघुवित्तका राम्रो पक्षको बेवास्ता गरी नराम्रो कुरा मात्र हाइलाइट गरिएको आरोप लगाएका छन् ।
‘लघुवित्तहरुले मुलुकको समृद्धिका लागि धेरै काम गरेका छन् । लघुवित्तमाथि राष्ट्र बैंकले निरन्तर नियमन र निगरानी गरिरहेकै छ । लघुवित्तहरुले जनताबाट जम्मा गरेको पैसा जनतामै लगानी गरेका हुन् । यसबाट ३४ लाख महिला प्रत्यक्ष लाभान्वित छन् । लघुवित्तले १३—१४ प्रतिशत ब्याजमा पैसा लिएर १५ प्रतिशतसम्म ब्याजमा लगानी गरेका छन् । एक-दुई प्रतिशतले लघुवित्तको दैनिक खर्च पनि चल्दैन । राम्रोभन्दा नराम्रो कुराको हाइलाइट गर्नु उचित होइन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
अध्यक्ष पोखरेलले एउटा मान्छेले धेरै माइक्रो फाइनान्सको पैसा चलाएकाले समस्या देखिएको पनि बताए । उनले भने, ‘ऋण लिएका मानिसलाई तिर्न नपरे हुन्थ्यो भन्ने लागेको हुन सक्छ । तर कसैले भनेको भरमा २० लाख ऋण मिनाहा सम्भव छ र ? त्यो त जनताको पैसा हो नि । जनताको पाँच खर्बभन्दा बढी पैसा जनतामै लगानी भएको छ । के कारणले तिर्न नसकेको पहिचान गर्न सकिन्छ । केही समस्या छन् भने राज्यसँग पहल गर्ने एउटा कुरा हो । यस्तो कुराको पछाडि नलाग्नु राम्रो । कानुनभन्दा माथि कोही पनि छैन ।’ लघुवित्तले चार हजारभन्दा बढी शाखाबाट २५ हजार कर्मचारीले सेवा दिइरहेको पनि पोखरेलले बताए ।