Logo

पारस शाहलाई राजा बनाउने भनेका छैनौं : धवलशमशेर



काठमाडौं, ८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलनमा आफ्नो पार्टीको नैतिक समर्थन रहेको बताएका छन् ।
‘राप्रपा आफैं पनि ७७ जिल्लामा एकै चोटि आन्दोलनको तयारी गर्दैछ । हामी एक्लै आन्दोलनमा जानेभन्दा पनि विचारधारा मिल्ने सबैलाई साथमा लिएर अघि बढ्दैछौं । जहाँसम्म दुर्गा प्रसाईको आन्दोलनको कुरा हो, त्यसबारे पार्टीले आधिकारिक कुनै निर्णय गरेको छैन । तर राजसंस्थासहितको हिन्दु राष्ट्रको एजेन्डामा हाम्रो नैतिक समर्थन छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
राप्रपाले दुर्गा प्रसाईको आन्दोलनमा कुनै कार्यकर्तालाई नरोकेको पनि उनले स्पष्ट पारे । राणाले भने, ‘पार्टीले प्रसाईजीको आन्दोलन असहयोग गर्ने भनेको छैन । हाम्रा कार्यकर्ता पनि त्यसमा होमिएका छन् । हामीले कार्यकर्तालाई रोक्ने कुरै छैन । हामी विचारधारा मिल्ने हरेक व्यक्ति, संस्था र पार्टीसँग सहकार्य गर्ने पक्षमा छौं । हाम्रो एजेन्डा जोसुकैले बोके पनि त्यसलाई साथ दिने हाम्रो लक्ष्य हो ।’
वर्तमान संविधानलाई नै गणतन्त्र र संघीयतालाई पल्टाउने राप्रपाको घोषित एजेन्डा भएको पनि राणाले बताए । उनले भने, ‘राजासहितको प्रजातन्त्र र सनातन हिन्दुसापेक्ष राष्ट्र ल्याउने हाम्रो एजेन्डा हो । त्यसका लागि अहिले पनि बेमौसमको बाजा भन्ने हो भने अर्को मौसम कहिले आउला र देश बन्ला ? संघीय गणतन्त्र पूर्णतः असफल भइसक्यो । व्यवस्था चलाउने नेताहरुमा क्षमता पनि देखिएन ।’
राप्रपाले पारस शाहलाई राजा बनाउने नभनेको पनि राणाको जिकिर छ । उनले थपे, ‘तपाईंहरुले काल्पनिक कुरा गरेर भ्रम फैलाइरहनुभएको छ । हामीले पूर्व राजा ज्ञानेन्द्रलाई नै राजा बनाउने हो । समय आएपछि राजपरिषद्को परामर्शमा उचित पात्र खोजिन्छ । हामीले पारस शाहलाई राजा बनाउने भनेका छैनौं । राप्रपाले खोजेको राजसंस्था संविधानभित्र अभिभावकीय र बेलायती राजाजस्तो संवैधानिक भूमिका खेल्ने खालको हो । राजनीति गर्ने र निरंकुश राजा त हामीले पनि खोजेका होइनौं ।’ राजा सबैको साझा भएकाले सडक आन्दोलनमा नआउने पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्