काठमाडौं,८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्र बचाउन खोज्दा आफूहरुमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाएका छन् ।
एकै दिनमा आफ्नै निवासमा तेस्रोपटक पत्रकार सम्मेलनको आयोजना गरेका प्रसाईंले आफूहरुले राष्ट्र बचाउन अभियान सञ्चालन गर्ने भन्दा मन नपराउनेहरुले कालोमोसो दलेर अपमान गरेको गुनासो गरेका छन् ।
प्रसाईंलाई गत महिना काठमाडौंमा भएको एक कार्यक्रममा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले कालोमोसो दलेका थिए । उक्त प्रकरणपछि युवा संघ र प्रसाईं समूह आमनेसामने भईरहेका छन् । बिहीबार प्रसाई समूहले आन्दोलन गरेकै दिन युवा संघले पनि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।
गणतन्त्र मासेर राजतन्त्र पुनर्वाहली गर्ने घोषणासहित बिहीबाबाट राजधानी केन्द्रीत आन्दोलन थालेका प्रसाईलाई शुक्रबार नेपाल प्रहरीले घरमै सुरक्षा दिएर राखेको थियो । आफूलाई प्रहरीले बाहिर निस्कन नदिएको भन्दै उनले आफू नजरबन्दमा परेको दाबी गरेका छन् ।
उनलाई नजरबन्दबाट मुक्त गर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छ्न । उक्त रिट आइतबार सुनुवाई हुने रिट निवेदक सुरेन्द्र भण्डारीले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।