काठमाडौं, मंसिर ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैङ्गिक हिंसा विरुद्धको १६ दिने यस अभियानको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै सबैको एकताबद्ध प्रयासका लागि सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गरेका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा शुभकामना व्यक्त गर्दै उनले सङ्घीय संरचनाअनुसार तीनै तहका सरकारमा लैङ्गिक हिंसा विरूद्धका कानूनी तथा संस्थागत व्यवस्थालाई आन्तरिकीकरण र संस्थागत गरी संवेदनशील र महत्वका साथ अगाडि बढाउन यस अभियानको सन्दर्भमा सबैलाई आग्रह गरेका छन्।
समतामूलक समाज निर्माणका लागि महिलामाथि हुने सबै प्रकारका हिंसाहरुको अन्त्य हुनुपर्ने अवधारणा अनुरुप हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियान सञ्चालन हुँदै आएको अवगत नै छ ।
“लैङ्गिक हिंसा व्यक्ति या परिवारको मात्रै समस्या होइन, यो हामीले अभ्यास गर्ने राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने नीतिहरुसँग अभिन्नरुपमा गाँसिएको छ, सबै क्षेत्रमा महिलाको राजनीतिक, सामाजिक र सांस्कृतिक सम्मानजनक उपस्थिति र सहभागिताको सुनिश्चित भएमात्रै हामीले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सक्छौँ”, उनले भनेका छन्।
यही तथ्यलाई आत्मसात गरेर लामो संघर्षपछि समावेशी समानुपातिक राजनीतिक प्रणाली स्थापना गर्दै महिला अधिकारका सबै पक्षलाई संवैधानिकरुपमा नै ग्यारेण्टी गर्न हामी सफल भएको उल्लेख गर्दे अबको आवश्यकता महिला अधिकारलाई सुनिश्चित गर्न संविधानमा उल्लेख गरिएका मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्नु रहेको प्रधानमन्त्रीद्वारा सार्वजनिक शुभकामना संदेशमा उल्लेख छ ।
यसैगरी लैङ्गिक समानताको मुद्दालाई सामाजिक न्याय, सुशासन र समृद्धिसँग अनिवार्य रुपमा जोडेर उनीहरुका लागि राज्यका तर्फबाट लगानी वृद्धि गर्ने र संविधानको मर्म अनुरुप कानुन निर्माण गर्दै महिला तथा बालबालिका लक्षित कार्यक्रमलाई सबै क्षेत्रमा मूलप्रवाहीकरण गर्नु अत्यन्तै जरुरी रहेको उनको भनाइ छ ।