Logo

एकपटक असफल भइसकेका राजा फेरि चाहिन्छ भन्नु लज्जास्पद : कांग्रेस नेता



काठमाडौं, ९ मंसिर । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले दुर्गा प्रसाईको आन्दोलनबाट कुनै परिवर्तन नहुने ठोकुवा गरेका छन् ।
‘पक्कै पनि जनतामा प्रमुख दलहरुले काम गर्न सकेनन् भनेर केही आक्रोश, असन्तुष्टि र निराशा छ । तर अहिलेको आन्दोलनबाट ठूलो परिवर्तन हुने संकेत केही देखिँदैन । कुनै सिद्धान्त र विचार नभएकाहरु राजाको नाममा राजनीति गर्न खोजिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र आफैंले म सक्दिन भनेर सत्ता छाडेको हो । जनताको नासो स्वतः जनतालाई नै बुझाउनुपर्छ भनेर बहिर्गमन गरेको हो । एकपटक असफल भइसकेको मान्छे फेरि चाहिन्छ भन्नु लज्जास्पद हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता रायमाझीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईलाई कार्यक्रम गर्न दिनुपर्ने औंल्याए । उनले भने, ‘जो कसैलाई सभा सम्मेलन गर्ने अधिकार दिनुपर्छ । हिजो हामी त्यसैका लागि लडेका हौं । तर आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार उल्लंघन गर्नुहुँदैन ।’
राजनीतिक दलहरुले राष्ट्रिय सभालाई ‘डम्पिङ साइट’ बनाइरहेको आरोप पनि उनले लगाए । उनले थपे, ‘राष्ट्रिय सभालाई हामीले अलिकति संवेदनशील भएर हेर्नुपर्छ । राष्ट्रिय सभामा प्रतिनिधिसभामा नउठेका कतिपय कुरा उठाउन सक्ने, सत्तापक्ष र प्रतिपक्ष नभनीकन सौहार्द रुपमा आफ्ना विचार राख्न सक्ने, विधेयक अध्ययन गर्ने अनि समय दिन सक्ने मान्छे चाहिन्छ । प्रतिनिधिसभामा हारेका, पटकपटक परीक्षण भएर थोत्रिसकेका नेताहरु व्यवस्थापन गर्ने डम्पिङ साइट होइन, बनाउनुहुँदैन । यो सम्मानित सदन हो ।’
फागुन २० बाट पदावधि सकिने १९ सदस्यको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार रहने पनि रायमाझीले बताए । उनले भने, ‘जुन पार्टीको सदस्यको पदावधि सकिएको छ, तिनकै उम्मेदवार हुन्छन् । यसमा गठबन्धनमा मतभेद हुँदैन । सबै साझा उम्मेदवार हुन्छन् । कांग्रेसका ८-९ जना उम्मेदवार रहलान् । माओवादीले ३-४, एकीकृत समाजवादीले २, जसपाले १ सिट पाउलान् ।’ मतभार कम भएकाले लोसपाको सम्भावना कम भएको पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्