Logo

दुर्गा प्रसाईको आन्दोलन प्रायोजित हो : गैरे



काठमाडौं, १० मंसिर । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले गणतन्त्रविरुद्ध प्रायोजित आन्दोलन चलिरहेको आरोप लगाएका छन् ।
‘जनताको अवस्था बदल्नका लागि लोकतान्त्रिक गणतन्त्र समस्या नै होइन । वर्तमान संविधानको रक्षा र कार्यान्वयनबाट नै जनताको अवस्था बदल्न सकिन्छ । यसमा दुबिधा पाल्नु जरुरी छैन । आम जनतामा आत्मविश्वास पैदा गर्ने र सकारात्मक बाटोमा लैजाने विचारको नेतृत्व एमालेले गर्नेछ । व्यवस्थाविरोधी आन्दोलन प्रायोजित कुरा हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता गैरेले आफ्नो संविधान र व्यवस्था विरुद्धको विषयमा सहमत हुन नसक्ने जिकिर गरे । उनले थपे, ‘दल र नेताप्रति अविश्वास होला तर व्यवस्था र संविधानप्रति अविश्वास छैन । दुई तिहाइ बहुमतबाट संविधान नै परिवर्तन गर्न सकिन्छ । जनतासँग जोडिएका मुद्दा जसले उठाए पनि बहस छलफल गर्न सकिन्छ । तर संविधान र व्यवस्था विरुद्धको विषयमा सहमत हुन सकिँदैन ।’
कुनै पनि व्यवस्था आएर बैंकको ऋण मिनाहा हुन्छ भन्नु हास्यास्पद भएको उनको भनाइ छ । दुर्गा प्रसाई कतैबाट सञ्चालित, प्रायोजित र नियोजित अभियानमा रहेको आरोप पनि उनले लगाए । उनले थपे, ‘पार्टी सञ्चालन र राज्य सञ्चालनमा के कति कमजोरी रहे भन्ने कुरामा हामीले आत्मसमीक्षा गर्नु जरुरी छ । दुर्गा प्रसाईलाई पार्टी प्रवेश गराउने र केन्द्रीय सदस्य बनाउने कुरा गलत थियो भन्ने व्यवहारले सिद्ध गरेको छ । वैचारिक प्रतिबद्धता नभएको अवसरवादी मान्छे आफैं पतन हुन्छ ।’
अर्को प्रसंगमा गैरेले पोखरा र भैरहवाको एयरपोर्ट हचुवामा बनाएको नभई सरकारको असक्षमताका कारण सञ्चालन हुन नसकेको आरोप पनि लगाए । उनले भने, ‘समस्या पोखरा र भैरहवा एयरपोर्टको होइन, सरकारको असक्षमता हो ।’



प्रतिक्रिया दिनुहोस्