काठमाडौं,१३ मंसिर । कोशी प्रदेश सभाको बैठक बस्न ढिलाइ भएको छ । प्रदेशसभामा पेस भएको बजेट अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक पारित गन मत दिने वा नदिने भन्ने विषयमा नेकपा एमाले र राप्रपा छलफलमा जुटेपछि बैठक बस्न ढिलाइ भएको हो । दुई दलबीच बैठक जारी छ ।
प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजेलाई तोकिएको थियो । तर, दलको बैठक जारी रहेकोले प्रदेशसभा बैठक सुरु हुन सकेको छैन ।
तत्कालीन एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधनसहित पारित गर्न कोसी सरकारले प्रतिस्थापन विधेयक पेस गरेको थियो । बजेट तथा कार्यक्रममाथि उठेका जिज्ञासाको जवाफ मंगलबारको बैठकमा मुख्यमन्त्री केदार कार्कीले दिएका थिए ।
बजेटमाथि एमालेका ६ र राप्रपाका दुई सांसदले खर्च कटौतीसम्बन्धी प्रस्ताव दर्ता गराएका छन् ।
प्रतिस्थापन विधेयकमार्फत सरकारले ३६ अर्ब ७४ करोड बजेट ल्याएको छ । अघिल्लो सरकारले ल्याएको बजेटभन्दा यो बजेट ५० करोड बढी हो ।
एमाले र राप्रपाले साथ नदिएमा कोशीको बजेट पारित हुनेछैन् । हाल प्रदेश सभाको अध्यक्षा गरिरहेका इस्राइल मन्सुरी सत्तारुढ दलकै सांसद भएको कारण उनले मकत दिन पाउनेछैनन् । उनले मत नदिएमा बजेट बहुमतले पारीत हुँदैन ।