Logo

नेपाल सुपर लिग: बुटवलको पहिलो जित



काठमाडौं,१७ मंसिर । नेपाल सुपर लिग अन्तर्गत आइतबार भएको खेलमा बुटवल एफसीले पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा वुटवलले इलाम स्पोर्टटिङलाई २-१ ले हराउँदै वुटवलले पहिलो जित दर्ता गरेको हो ।

बुटवललाई जित दिलाउन स्टेफन बिनोङ र कप्तान एरिक बिष्टले गोल गरे । इलामका अमाथ ड्वले गोल फर्काएका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ४९औँ मिनेटमा स्टेफन बिनोङले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए । यार्ड बक्स बाहिरबाट विनोङले नै बक्सभित्र लेफ्ट साइडका जिलेश्पीजंग कार्कीलाई खोजेका थिए । जिलेश्पीले निकालेको पासमा यार्ड बक्सनजिक अनमार्क रहेका बिनोङले नै बललाई वान टचमा जालीको दिशा दिएका थिए ।

अमाथ ड्वले ७८औँ मिनेटमा गोल गर्दै इलामलाई खेलमा फर्काएपछि खेलले रोमाञ्चक मोड लियो । सन्तोष खत्रीले करिब ३५ यार्ड परबाट गरेको प्रहार इलामका गोलकिपर मोहम्मोदोउले बचाए पनि सो बल गोललाइन नजिक रोकिँदा पेनाल्टी बक्समा रहेका ड्वले सहजै जाली चुमाए ।

तर, ८८औँ मिनेटमा एरिक विष्टले उत्कृष्ट फ्रिकिक गोल गर्दै बुटवललाई पुनः अग्रतामा राखे । ३० यार्डभन्दा परको फ्रिकिकमा एरिकले सोझै टप कर्नर गोल गरे । यही गोल निर्णायक बन्दा बुटवलले पहिलो तीन अंक सुनिश्चित गर्‍यो ।

जितसँगै बुटवलले प्रतियोगितामा तीन खेलबाट तीन अंक जोडेको छ । यसअघि पहिलो खेलमा ललितपुरसँग २–० ले पराजित बुटवलले दोस्रो खेलमा धनगढीविरुद्ध पनि १–० को हार बेहोरेको थियो ।

प्रतियोगितामा इलामको भने यो दोस्रो हार हो । यसअघि उद्धघाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग १–० ले निराश बनेको इलामले दोस्रो खेलमा भने झापालाई १–० ले हराएको थियो ।



प्रतिक्रिया दिनुहोस्