Logo

वर्षासँगै हिउँदयाम सुरु, आज यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं, मंसिर १९ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसर उक्त प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज रातिसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबारदेखि देशका उच्च हिमाली भेगको रारा क्षेत्र, जुम्ला, हुम्ला, मुस्ताङलगायतका स्थानमा लगातार हिमपात भइरहेको छ । उच्च पहाडी र हिमाली भेगका गण्डकी, कर्णाली, सुदूरपश्चिममा चिसो एक्कासि बढ्दा जनजीवन प्रभावित बनेको छ । गण्डकी प्रदेशको जोमसोममा दुई दिनयता सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ ।



प्रतिक्रिया दिनुहोस्