Logo

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव



काठमाडौं, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा अब कहिल्यै पनि हिन्दुराष्ट्र र राजतन्त्रको गुञ्जायस नरहने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब नेपाली जनताले इतिहासको पछाडि नफर्कने बताएका हुन् ।

उनले सिंगै विश्वले चाहेपनि नेपाल गणतन्त्रबाट बाहिर जान नसक्ने बताएका हुन् । उनले गणतन्त्रमा सबै धर्म र संस्कृतिको सम्मान हुनेसमेत बताए । सबै प्रकारका आस्था र विश्वासभन्दा माथि राज्य हुनुपर्ने उनको दाबी छ । धर्मतन्त्रका आधारमा राज्य सञ्चालन गरिन नहुने उनको भनाई छ । अहिले केही मुठ्ठीभरका मान्छेहरुले पैसा खाएर हिन्दु धर्मको प्रचार गरेको उनको आरोप छ ।

आफूले पूर्वराजा ज्ञानेन्द्रलाई सम्मान गर्ने बताउँदै उनले राजतन्त्र फर्काउनेतिर लाग्नु भन्दा पनि छिमेकी देश चीनका अन्तिम राजा पोईको इतिहास पढ्नका लागि सुझाए । उनले चीनका अन्तिम राजाको जीवनी एकाग्र भइ पढेर बरु आफूले पनि त्यस्तै संस्मरण लेख्न पूर्वराजालाई सुझाव दिए ।

‘राजाबाट हटिसकेपछि चीनमा भएको परिवर्तनले उनलाई पारेको प्रभावलाई समेत केन्द्र विन्दुमा राखेर त्यो किताब लेखेका छन् । त्यो किताब म पूर्वराजा ज्ञानेन्द्रलाई एकाग्र मन बनाएर अध्ययन गर्न भन्छु । यदि सम्भव छ भने उहाँले पनि त्यस्तै एउटा मेमोरी लेखेर जानुभयो भने त्यसले पूर्वराजा ज्ञानेन्द्रलाई अमर बनाउन सक्छ,’– उनले भने ।

उनले पूर्वराजा ज्ञानेन्द्रको इतिहास सकिएको दाबी गरे । ज्ञानेन्द्रलाई आफूले लिएको गलत नीतिको सजाय नेपाली जनताले दिइसकेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्