Logo

राससको प्रदेशस्तरीय क्षमता विकास कार्यक्रम सुरु



देउखुरी , २४ मङ्सिर । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा आजदेखि दाङको भालुबाङमा दुई दिने लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीको क्षमता विकास कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेशको गृह मन्त्रालयको सहयोगमा उक्त कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले रासस प्रदेश कार्यालय स्थापना गर्न प्रदेश सरकार सधैँ सकारात्मक रहेको बताए । उनले राससले सही र सत्य समाचार दिइरहेकाले यसको निरन्तरताको खाँचो औँल्याए । सो अवसरमा मन्त्री खनालले सञ्चारकर्मीलाई खोजी समाचारमा जोड दिँदै सङ्घीयताका विषयमा जनतालाई राम्रोसँग बुझाउन आग्रह गरे ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लुम्बिनी प्रदेश सरकारसँग रासस सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच सहकार्य हुनुपर्ने बताए । उनले भने, “राससले त्यसका लागि तयारी गरेको छ ।” राससको मान्यता सबैले सजिलोसँग सूचना पाउनुपर्छ भन्ने रहेको कार्यकारी अध्यक्ष झाको भनाइ थियो । “राज्यको सञ्चारमाध्यम भएकाले राससले यसको दायरा फराकिलो बनाउनका लागि विभिन्न मातृ भाषाका समाचार दिने तयारी गरेको छ”, उनले भने।

राससका महाप्रबन्धक सिद्धराज राइले सञ्चारकर्मीको क्षमता विकास गरेर राससले प्रभावकारी सेवा दिने बताए ।

लुम्बिनी प्रदेशको गृह मन्त्रालयका कानून अधिकृत मञ्जु पोखरेलले रासससँग सहकार्य गरेर काम गर्ने उल्लेख गर्दै सञ्चार ऐन निर्माण गरी काम अघि बढाइएको जानकारी दिए । कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न कार्यालयका प्रमुख तथा प्रदेशका १२ जिल्लाका राससका स्थानीय समाचारदाता सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्