Logo

अर्थमन्त्रीको निर्देशनको कमाल, शेयर बजारमा उछाल



काठमाडौं, २४ मंसिर । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा तेस्रो पटक सर्किट लागेर कारोबार बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको हो। अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर महाप्रसाद अधिकारीलाई कर्जा बिस्तार र ब्याजदर घटाउने विषयमा लचिलो बनाउन निर्देशन दिएका थिए । मन्त्री महतको निर्देशन बमोजिम राष्ट्र बैंक लचिलो भएपछि बजारमा सकारात्मक प्रभाव परेको हो ।

अर्थ मन्त्रालयको निर्देशनमा राष्ट्र बैंकले पुँजीबजारसँग सम्बन्धित विषयमा सेयर धितो कर्जाको जोखिम भार घटाई एक सय २५ प्रतिशत कायम गरेको थियो । त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंक दरलाई सात दशमलब पाँच प्रतिशतबाट घटाएर सात प्रतिशतमा कायम गरेको थियो भने नीतिगत दरलाई छ दशमलब पाँच प्रतिशतबाट घटाएर पाँच दशमल पाँच प्रतिशतमा कायम गरेको थियो । त्यसैगरी निक्षेप सङ्कलन बोलकबोल दरलाई साढे चार प्रतिशतबाट घटाएर तीन प्रतिशत कायम गरिएको थियो ।

आज कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो । पुनः १२ः ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेर आजका लागि शेयर बजार बन्द भएको थियो । आज बजार ६ प्रतिशतले बढेको छ । बजार छ प्रतिशतले बढेमा सो दिनको कारोबार रोकिने ब्यवस्था रहेको छ । आइतबार सेयर बजारको परिसूचक नेप्से १११ अंक बढेको छ । नेप्से १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

अर्थविद् र शेयर बजारका विश्लेषकहरु बजार अझै केही दिन बढ्ने बताउँछन् । बजारलाई राष्ट्र बैंकको नीतिले सपोर्ट गरेको उनीहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्