Logo

वीर अस्पतालको निर्देशकबाट हटाउने निर्णयविरुद्ध पौडेलले दायर गरेको रिट न्यायाधीश ढुंगानाको इजलासमा



काठमाडौं, २६ मंसिर । वीर अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा तान्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्णय बदर गर्न माग गर्दै डा. सन्तोष पौडेलले दायर गरेको रिट सर्वोच्चमा आज सुनुवाइ हुँदैछ ।

पौडेलले गत मंसिर १८ गते सर्वोच्चमा रिट हालेका थिए । पौडेल वीर अस्पतालको निवर्तमान निर्देशक हुन् । उनलाई मन्त्री बस्नेतले एमालेको कार्यकर्ता भन्दै निर्देशकबाट हटाएका थिए । उनलाई मन्त्रालयमा तानेर मन्त्री बस्नेतले डा. श्रवनकुमार थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिएका छन् ।

पौडेल तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीले २ वर्षे कार्यकालका लागि निर्देशकमा नियुक्त गरेका थिए । तर, उनी एमालेमा सक्रिय रहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।

डा. पौडेलले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर निर्णय लिइएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिट सुनुवाइका लागि आज सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको छ ।

उनलाई गत मंसिर १४ गते मन्त्रीस्तरीय निर्णयबाट वीर अस्पतालको जिम्मेवारीबाट हटाएर मन्त्रालयमा हाजिर हुन बोलाइएको थियो । डा. पौडेल वरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं सर्जन हुन् । आफूलाई जिम्मेवारीबाट हटाएर मन्त्रालय तानिएपछि उनले मन्त्रीस्तरको उक्त निर्णयलाई ‘राणा शासन भन्दा कडा अधिनयकवाद’ को संज्ञा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्