काठमाडौं, २७ मंसिर । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले धरानमा भ्रष्टाचार शून्य रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले धरानमा आजसम्म भ्रष्टाचारका कुनै पनि उजुरी नपरेको बताएका हुन् ।
‘म त धरानमा शून्य प्रतिशत भ्रष्टाचार छ भन्छु । आजसम्म भ्रष्टाचारका कुनै उजुरी आएको छैन । थुप्रै काम गरिरहेको छु,’– उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई एकदमै सकारात्मक ढंगले स्वागत गरेको र मागहरु सम्बोधन गर्ने वचन दिएको उनले सुनाए । धरानमा एयरपोर्ट बनाउनेदेखि खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता ब्यक्त गरेको उनले बताए ।
उनले आफूले धरानमा खानेपानी, विरुवा रोपाइ,पार्कहरु बनाउने, बजेटलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने, सुशासन कायम गर्ने, जनतालाई सूचनाको हक दिलाउने, भ्रष्टाचार न्यूनीकरण गर्नेजस्ता काम गरेको बताए । आफूले ९८ दिनमा नगरपालिकाको एक रुपैया पनि नचलाई ४२ किलो मिटर टाढाबाट पानी ल्याएर खुवाउन सफल भएको उनले बताए ।
आफूले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीलाई भेटेर धरानको खानेपानी, एयरपोर्ट, विपी अस्पताल लगायतका विषयमा छलफल गरेको उनले बताए ।