काठमाडौं, २७ मंसिर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी फुटको संघारमा पुगेको छ। वरिष्ठ नेता राजेन्द्र महतोलगायत शीर्ष नेताहरुले नै पार्टीको केन्द्रीय कमिटीको बैठक बहिष्कार गरेपछि यो पार्टी फुटको संघारमा पुगेको हो । पछिल्लो समय वरिष्ठ नेता महतो अध्यक्ष ठाकुरको कार्यशैलीलाई लिएर असन्तुष्ट छन् ।
उनी पार्टीका कुनैपनि गतिविधिमा सक्रिय छैनन् । महतोलाई अर्का नेता तथा पूर्वमन्त्री अनिल कुमार झाले पनि साथ दिएको चर्चा छ । यी दुवै नेताले यही मंसिर २४ गते काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठक बहिष्कार गरेका थिए । लोसपामा ३११ सदस्यीय जम्बो केन्द्रीय कमिटी छ ।
मंसिर २४ गतेको बैठकमा मुश्किलले १२० जना नेतामात्रै उपस्थित भएका थिए । केन्द्रीय कमिटीको बैठकमा नै आधाभन्दा धेरै नेताहरु अनुपस्थित् भएपछि अध्यक्ष ठाकुर चिन्तित छन् । उनले अब महतोले जुनुसुकै बेला पार्टी फुटाउनसक्ने भन्दै त्यसलाई रोक्न अहिले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको चर्चा छ । महतो गत मंसिरमा सम्पन्न चुनावमा सर्लाहीबाट पराजित भएका थिए । उनलाई अध्यक्ष ठाकुरलगायतका नेताहरुले राम्रो सहयोग नगरेको पार्टीभित्रै चर्चा छ । file photo