काठमाडौं,२७ मंसिर । संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ । आइतबार आकस्मिक रुपमा पदबाट राजीनामा दिएका गौतमको राजीनामा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका हुन् ।
२०७७ बैशाखमा महासचिव नियुक्र भएका गौतमले पदावधि बाँकी रहँदै राजीनामा दिएका हुन् । उनले कार्यकाल सकिन ८ महिना बाँकी रहँदै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शपछि राजीनामा दिएका हुन् ।
गौतमले राजीनामा दिएकै दिन सभामुख र अध्यक्षले प्रतिनिध सभाका सचिव डा पद्यप्रसाद पाण्डेलाई महासचिवमा नियुक्त गर्न सिफारिस गरेका छन् । तर, उनको नियुक्ति भने हालसम्म भएको छैन् । आजबाट उनै पाण्डेले कार्यवाहक महासचिवको जिम्मेवारी पाएका छन् ।
फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ । जसमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि रहेका छन् । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र सभामुख घिमिरे दुबै नेकपा एमालेबाट सांसद निर्वाचित भएका थिए । राष्ट्रिय सभा निर्वाचन पछि सत्तारुढ दलबाट अध्यक्ष बन्ने सम्भावना रहेको छ ।
सत्तारुढ दलबाट अध्यक्ष बन्दा सभामुखसँग कुरा नमिल्ने हुँदा अहिलेनै आफू अनुकुललाई महासचिवमा ल्याएको चर्चा भईरहेको छ । राजीनामा दिने गौतम र सिफारिसमा पर्ने पाण्डे दुबै नेकपा एमाले निकटका हुन् ।