काठमाडौं,२७ मंसिर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महामन्त्री गगन थापा र आफूबीचमा कुनैपनि मतान्तर नरहेको प्रष्ट पारेका छन् ।
बुधबार काठमाडौंमा बसको कांग्रेस संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै कोइरालाले सो प्रष्टीकरण दिएका हुन् । ‘हामी हिजोजस्तै आजपनि सँगै छौं । बाहिर आएका सबै कुरा हल्ला हुन’ उनले भने ‘हल्लाको पछि लागेर अड्कलबाजीमा नलाग्नुस, हामीबीच कुनै मत-मतान्तर छैन’ ।
उनले गगनसँग अहिले पनि आफू सहकार्यमा रहेको बताउँदै समय समयमा छलफल पनि गरिरहेको जवाफ दिएका थिए। गगनसँग मंगलबार पनि लामो छलफल भएको उल्लेख गरेका उनले मिलेर जाने कुरामा कुनै समस्या नरहेको भने नेताहरूलाई आश्वस्त बनाए।
कोशी देशमा शेखर निकट केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कांग्रेसमा सिंगो पार्टी एकातिर शेखर कोइराला अर्कोतिरको अवस्था बनेको थियो ।
कांग्रेसका ९ सांसदको समूहलाई एमालेले समर्थन दिएपछि कार्कीको नेतृत्वमा सरकार बनेको हो । त्यसलाई लिएर महामन्त्रीद्वयले शेखरलाई कारबाही गर्नुपर्नेसम्मको विषय उठाएको भन्दै चर्चा भएको थियो ।
सार्वजनिक रूपमा पनि महामन्त्रीद्वयले अनुशासनको प्रश्न उठाएका थिए । त्यस-यता शेखर र गगनबीच भेटवार्ता र छलफल समेत भएको थिएन । सुरुमा शेखर कोइरालाले मंगलबारका लागि बैठक डाक्दा गगनलाई खबर नै नगरिएको गगन निकटहरूले बताएका थिए । तर, शेखरले गगनको समय लिएर नै एक दिनपछि बैठक डाकेका हुन् ।