काठमाडौं,२७ मंसिर । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कोशीका मुख्यमन्त्री केदार कार्कीले कामभन्दा बढी स्याण्डबाजी गरेको आरोप लगाएका छन् ।
बुधबार बसेको कांग्रेस संस्थापन तर समूहको बैठकमा बोल्दै उनले कार्कीलाई मुख्यमन्त्री बनाउने विषयमा आफू र महामन्त्री गगन थापालाई जानकारी नगराईएको दाबी गरेका हुन् । ‘कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउने बेला महामन्त्री गगन थापा र मलाई जानकारी गराउनु भएन । त्यसले समूहमा अन्तरद्वन्द्व पैदा गरायो ।’ उनले बैठकमा भने,
नेता घिमिरेले सरकार बनेको २ महिनाभन्दा धेरै समयसम्म मुख्यमन्त्रीले सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना गरेका छन् । मुख्यमन्त्री कार्कीले पार्टीका महामन्त्रीमाथि सार्वजनिक रुपमा विरोध गरेकोमा नेता घिमिरेको आपत्ति थियो । उनले भने,‘मुख्यमन्त्री भएको दुई महिना भयो । मन्त्रिपरिषद् विस्तार गर्नसक्नु भएको छैन । काम गर्न छाडेर महामन्त्रीविरुद्ध सार्वजनिक अभिव्यक्त दिँदै हिँड्नु भएको छ । यो आपत्तिजनक छ ।’
उनले बैठकमा जंगिँदै केदार कार्कीलाई महामन्त्री गगन थापालाई गाली मुख्यमन्त्री बनाएको हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।
‘कोशीमा मुख्यमन्त्री भएको दुई महिनासम्म क्याबिनेट विस्तार हुन सकेको छैन’, घिमिरेले बैठकमा भने, ‘उनै मुख्यमन्त्री (केदार कार्की) बाहिर आफ्नै महामन्त्री (गगन थापा) लाई गाली गर्दै हिँडेका छन्। महामन्त्रीलाई गाली गर्न मुख्यमन्त्री बनाएको हो?’