रामपुर (पाल्पा), २८ मङ्सिर । पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।
रामपुर नगरपालिका–१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनविर खड्काको परिवारलाई नगरपालिकाले रु एक लाख सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । दाङको शान्तिनगर गाउँपालिका–१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई नगरपालिले सो रकम प्रदान गरेको हो ।
गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो । रामपुर नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ । रासस