Logo

जाडो वा हावाहुरीलाई लिएर महासमिति बैठक रोकिँदैनः कांग्रेस नेता आचार्य



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता मधु आचार्यले पार्टीको महासमिति बैठक निर्धारित समयमै हुने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जाडो वा हावाहुरीलाई देखाएर महासमिति बैठक नसर्ने बताएका हुन् ।

‘नेपाली कांग्रेस त्यति कच्चा पार्टी बनाइनु हुन्न भन्ने हाम्रो आग्रह हो । अहिले सम्मको निर्णय भन्नुहुन्छ भने पुष १६ गते राष्ट्रिय एकता, मेलमिलाप दिवसको दिन महासमिति बैठक सुरु हुन्छ । बैठक हुनैपर्छ । नहुनुको कारण के छ र ? जाडो त यो वर्षमात्रै पुषमा जाडो भएको हो र ?’ प्रश्न गर्दै उनले भने, ‘कांग्रेस जेल, नेल, बम, बारुद सबै भोगेर आएको पार्टी हो । जाडो हुने वा हावा हुरी चल्ने भन्ने कुराले आफ्नो मेजर प्रोग्राम पन्छाउने भन्ने हुँदैन । त्यहीमाथि यो निर्णय गर्ने बेलामा थाहा थिएन र पुष, माघमा हामी कहाँ जाडो हुन्छ भनेर ?’

अब कांग्रेस सुध्रिनुपर्छ भनेर पार्टी सभापति शेरबहादुर देउवालाई हेक्का हुनुपर्ने उनले बताए । अब कांग्रेस रुपान्तरणको बाटोमा जानुको विकल्प नरहेको उनले बताए । उनले आफूहरुको दवाबकै कारण देउवा १ वर्षपछि केन्द्रीय समिति बैठक राख्न बाध्य भएको स्मरण गराए । कांग्रेस रुपान्तरणको अभियानमा रहेको र सोचेझैं भने नभइरहेको उनको भनाई छ ।

शेखर–गगन समूहको भेलाको मुख्य उद्देश्य महासमितिको बैठक बस्नका लागि दवाब सिर्जना गर्नुृ भएको उनले बताए । साथै, राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार छनोटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने हिजोको बैठकको निश्कर्ष रहेको उनले बताए । साथै, समानुपातिक सूचीमा रहेका र पटक–पटक अवसर पाएका भन्दा अहिलेसम्म अवसर नपाएका र पार्टीलाई योगदान दिएकाहरुलाई अवसर दिनुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्