काठमाडौं,२८ मंसिर । वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न माग गर्दै डा.सन्तोष पौडेलले सर्वोच्च अदालतमा दायर गरेको रिट पाँचौ पटक बिहीबार पेशीमा परेको छ ।
बिहीबार सो रिट न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको हो । गत मंसिर १५ गत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले पौडेललाई निर्देशकको जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेका थिए ।
नेकपा एमोलको कार्यकर्ता रहेको आरोपमा निर्देशकबाट हटाएर मन्त्रायलमा तानेको भन्दै पौडेल १८ मंसिरमा सर्वोच्च पुगेका थिए । उनले दायर गरेको रिट त्यसपछि क्रमशनहकुल सुवेदी, सुष्मालता माथेमा, विनोद शर्मा र प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेपछि समय अभावका कारण हेर्न नभ्याइनेमा परेको थियो ।
स्वास्थ्य मन्त्रालयले भने पौडेललाई जिम्मेवारीबाट तानेर डा.श्रवनकुमार थापालाई निमित्तको जिम्मेवारी दिएको थियो । पौडेल तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीको कार्यकालमा २ वर्षका लागि निर्देशकमा नियुक्त भएका थिए ।