Logo

धनकुटा पुगेका ओलीलाई पहिचानवादीले देखाए कालोझण्डा



काठमाडौं,२८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीलाई धनकुटामा पहिचानादीहरुले कालोझण्डा देखाएका छन् । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत जम्बो टिम लिएर कोशी प्रदेश छिरेका ओलीलाई धनकुटको लेगुवामा पहिचानवादीहरुले अवरोध गरेका हुन् ।

कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आन्दोलनमा होमिएका उनीहरुले ओली सवार गाडीलाई रोक्ने प्रयास गरेपछि प्रहरीले १० जना भन्दाधेरैलाई पक्राउ गरेको छ । मंगलबारदेखि कोशी प्रवेश गरेको एमालेको टोलीलाई अवरोध गर्न खोज्ने हालसम्म ३० जनाभन्दा धेरै पक्राउमा परेको प्रहरीको भनाइ छ ।

मंगलबार प्रहरीले पूर्व मन्त्री गोपाल किराती पूर्व सांसद मीना राईसहितका २ दर्जन नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । गत फागुन १७ गते प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि पहिचानवादीहरु आन्दोलित बनिरहेका छन् ।

उनीहरुले एमाले र कांग्रेस नेताहरुलाई प्रदेशमा प्रवेश निषेध गर्ने घोषणा गरेका छन् । प्रहरीले पक्राउ परेकाहरुलाई एमालेको अभियान सकिएपछि मात्र छाड्ने तयारी गरेको छ ।

१५ दिनअघि झुलाघाटबाट सुरू भएको समृद्धिका लागि संकल्प यात्रा भोजपुरबाट धनकुटा प्रवेश गरेको छ । आजै तेह्रथुम वसन्तपुरमा आमसभा हुँदैछ । सभामा कोशी प्रदेशका सुनसरी, धनकुटा, संखुवासभा र तेह्रथुमबाट नेता तथा कार्यकर्ता सहभागी हुँदैछन् ।



प्रतिक्रिया दिनुहोस्