Logo

सातै प्रदेशका मुख्यमन्त्री पुस १३ गते हेटौंडामा भेला हुने, संघीय सरकारविरुद्ध थप रणनीति तय गर्ने



सातै प्रदेशका मुख्यमन्त्री पुस १३ गते हेटौंडामा भेला हुने, संघीय सरकारविरुद्ध थप रणनीति तय गर्ने

काठमाडौं,२८ मंसिर । संविधानले दिएका अधिकारको स्वतन्त्ररुपमा प्रयोग गर्न पाउनुपर्ने मागसहित संघीय सरकारविरुद्ध संघर्षरत रहेका सातै प्रदेशका मुख्यमन्त्रीहरुले सामूहिक रुपमा छलफल गर्ने भएका छन् ।

आउँदो पुस १३ गते बागमती प्रदेशको राजधानी हेटौंडामा सौ प्रदेशका मुख्यमन्त्रीहरूको बैठक हुने तय भएको हो ।

संघीयता कार्यान्वयनका जटिलता फुकाउने भन्दै पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वमा भएको समन्वय परिषदको बैठकले मुख्य ६ वटा निर्णय गरेको थियो।

विभिन्न समिति गठन गर्दै ६ महिनाभित्र संघीयताको गाँठो फुकाउने बैठकको निर्णय थियो। ६ महिनाको समयसीमा पुस १५ गते सकिँदै छ। त्यसको २ दिन अगाडि नै हेटौंडामा बैठक राखेर थप रणनीति बनाउन बैठक डाकिएको हो ।

पछिल्लो समय संघीय सरकार र प्रदेश सरकारबीच अधिकराका विषयलाई लिएर टसल सिर्जना हुँदै आएको छ । संविधानले दिएका अधिकारमा संघले हस्तक्षेप गरेको प्रदेशको ठहर छ । बागमती प्रदेशले यसअघि नै संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

उता मधेश प्रदेश सरकारको सिंगो टिम प्रदेश प्रहरी समायोजन र संविधानका एकल अधिकारको स्वतन्त्र कार्यान्यनका लागि संघलाई झकझकाउन निरन्तर प्रयासरत छ । मधेश सरकारले एक महिनाको समय दिएर आफ्ना मागहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि संघले अधिकार नदिए सिंहदरबार अगाडि धर्ना बस्ने चेतावनी दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्