काठमाडौं, २९ मंसिर । सत्तरुढ दलबीच राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन हुने भएको छ । आज (शुक्रबार) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन गरेरनै राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुनुपर्ने निश्कर्ष निकालेको हो ।
रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुँदैछ । कांग्रेसले १९ सिटमध्ये १० सिटमा दाबी गर्ने तयारी गरेको छ । त्यसैगरी, पार्टीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि टिकट बाँड्ने जिम्मा कांग्रेसले सभापति शेरबहादुर देउवालाई दिएको छ ।
२०७९ मंसिर ४ गते भएको संघ र प्रदेशको निर्वाचनमा पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलबीच गठबन्धन भएको थियो । पछिल्लो समय अब निर्वाचनअघि गठबन्धन गर्न नहुने पक्षमा वकालत गर्दै आएको कांग्रेसले अन्ततः गठबन्धन संस्कृतिलाई नै निरन्तरता दिन लागेको हो ।
त्यस्तै, अन्य दलहरु पनि गठबन्धन गरेरै राष्ट्रिय सभा सदस्य निर्वाचनमा जानुपर्ने बताउँछन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुवोधराज शेर्पाली अहिले गठबन्धनको सरकार रहेकाले सरकारमा अझ बढि विश्वासको वातावरण बनाउन राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन हुनुपर्ने बताउँछन् ।
त्यस्तै, खास्सै जनाधार नरहेको नेकपा (एकीकृत समाजवादी) पनि गठबन्धनकै पक्षमा रहेको छ ।