काठमाडौं, २९ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति एवं नेपाली रेडियो नेटवर्क र प्राइमटाइम टेलिभिजनका अध्यक्ष पत्रकार ऋषि धमला ‘चर्चित पत्रकार व्यक्तित्व उपाधि’ बाट सम्मानित भएका छन् ।
पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल जेसीजले ५०औं राष्ट्रिय महाधिवेशनको अवसरमा सो उपाधिमार्फत पत्रकार धमलालाई सम्मान गरेको हो ।
‘पत्रकारिता क्षेत्रमा अमूल्य योगदान गर्दै निरन्तर क्रियाशिल रही सबैका लागि अनुकरणीय सक्रियताका साथ, लगनशीलताको उदाहरण, सकारात्मक सोच र सहयोगी भावनाका धनि, आम युवाहरूले सिक्न लायक नेपाली पत्रकारितामा छुट्टै पहिचान बनाउनु भएका चर्चित पत्रकार व्यक्तित्वको उपाधिसहित यहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान पत्र प्रदान गर्दछौं,’– सम्मान पत्रमा भनिएको छ ।
नेपाल जेसिजको नेतृत्व परिवर्त समयमा नै हुने गरेकोमा तारिफ गर्दै धमलाले देशको लामो समयसम्म देशमा नेतृत्व परिवर्तन हुन नसकेकोमा असन्तुष्टि ब्यक्त गरे । साथै, अब देश बनाउने र सुशासनको पक्षमा योगदान पुर्याउन सक्ने संस्था नेपाल जेसिज रहेको उनले बताए ।
अबको नेतृत्व ५० वर्ष नपुगेका युवाहरुको हातमा हुनुपर्ने उनले बताए । उनले व्यवस्था परिवर्तनका लागि नेपाली पत्रकारिता क्षेत्रको योगदानको स्मरण गराउँदै अब अवस्था परिवर्तनका लागि पत्रकारिता गर्ने प्रतिवद्धता ब्यक्त गरे ।