काठमाडौं, ३० मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति एवं नेपाली रेडियो नेटवर्क र प्राइमटाइम टेलिभिजनका अध्यक्ष पत्रकार ऋषि धमलाले जलवायु परिवर्तन न्यूनीकरणका लागि युवा पुस्ताहरुको योगदान अपरिहार्य रहेको बताएका छन् । आज (शनिबार) एपेक्स कलेजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौंलाई सुन्दर, हराभरा र हरियाली सहर बनाउने एपेक्स कलेजको अभियान सफल हुनेमा विश्वास ब्यक्त गरे । सो अभियानले विश्वमा अहिले जलवायु परिवर्तनका बारेमा भइरहेका बहसलाई सहयोग पुर्याउने उनको भनाइ छ ।
‘काठमाडौंलाई सुन्दर, हराभरा र हरियाली सहर बनाउने एपेक्स कलेजको अभियान अब सफल हुनेछ । हामी आजबाट एउटा अभियान सुरु गर्दैछौं । यो अभियानले जलवायु परिवर्तनले विश्वमा पारेको असरका बारेमा जसरी अहिले छलफल भइरहेको छ, अब नेपालमा एपेक्स कलेजबाट सुरुवात भयो,’– धमलाले भने ।
साथै, एपेक्स कजेलमा अध्ययनरत विद्यार्थीहरुलाई सम्बोधन गर्दै धमलाले भोलिको नेपाल युवाहरुकै हातमा रहेको बताए । अहिले नेतृत्वमा रहेको पुस्ताले नेपाल बनाउन नसकेको टिप्पणी गर्दै उनले युवा पुस्तानै अबको नेपाल निर्माणको आशाको केन्द्र रहेको बताए । युवाहरुले नेपालमै सम्भावना देख्न सक्नुपर्ने र नेपालमा नै बसेर विकास र समृद्धिका काम थाल्नुपर्ने आवश्यकता उनले औंल्याए ।
काठमाडौं प्रदुर्षित छ । हावा पानी स्वाच्छ छैन । तर, हामीले सुरु गरेको अभियानले काठमाडौलाई अब सुन्दर र उत्कृष्ट सहर बनाउने संकल्प सुरु भएको छ । यसले विश्वव्यापी रुपमा सन्देश दिनेछ ।
मान्छे स्वास्थ्य भएमा मात्रै समाज रुपान्तरण गर्नसक्ने बताउँदै उनले स्वास्थ्यका लागि स्वच्छ वातावरण आवश्यक पर्ने बताए ।