काठमाडौं,१ पुस । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेका उच्च अदालत पाटनका मुख्य न्यायाधीश टेकप्रसाद ढुंगानले आफ्नो कार्ययोजना र प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।
आाइतबार बसेको संघीय संसद्को संसदीय सुनुवाइ विशेष समितिको बैठकमा ढुंगानाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् । ढुंगानले आफ्नो कार्यअनुभवमा सर्वोच्चको न्यायाधीश हुने योग्यता कानुनमा स्नातक भएको उल्लेख गरेका छन् । उनले आफू कानुनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ समेत भएको खुलाएका छन् ।
उनले आफूले नौ पूर्वप्रधानन्यायाधीश र पाँच पूर्वन्यायाधीशको सहायक भई सर्वोच्चको फैसला लेखनकार्य गरेको अनुभव समेत प्रस्तुत गरेका छन् ।
न्याय सेवाअन्तर्गत उनी शाखा अधिकृतका रूपमा २९ वर्षअघि सेवामा प्रवेश गरेका हुन् । ढुंगानाले आफूले शाखा अधिकृत हुँदा नै पूर्वप्रधानन्यायाधीशहरू त्रिलोकप्रताप राणा, ओमभक्त श्रेष्ठ, केदारनाथ उपाध्याय, दिलीपकुमार पौडेल, केदारनाथ गिरी, मीनबहादुर रायमाझी, अनुपराज शर्मा, खिलराज रेग्मी र कल्याण श्रेष्ठको इजलासमा सहायकका रूपमा फैसला लेखनकार्यमा संलग्न भएको उनले उल्लेख गरेका छन् । सोक्रममा दुई हजार बढी फैसला लेखेको उनको भनाइ छ ।
उनले पूर्वन्यायाधीशहरू लक्ष्मणप्रसाद अर्याल, केदारनाथ आचार्य, उदयराज उपाध्याय, कृष्णजंग रायमाझी, टोपबहादुर सिंह, अरविन्द आचार्य र बलराम केसीको इजलासमा पनि सहायक भएर फैसला लेखनमा संलग्न भएको उल्लेख गरेका छन् ।
ढुंगाना संसद् सचिवालयमा कार्यरत रहेका बेला ०७३ सालमा न्यायाधीशमा सिफारिस भएका थिए । ढुंगानाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकदेखि संविधान जारी हुँदासम्म संसद् सचिवालयको कानुनी सल्लाहकारका रूपमा काम गरेको भन्दै संविधान निर्माण र कानुन बनाउने सबै परिघटनामा प्रत्यक्ष साक्षी बनेको पनि उल्लेख गरेका छन् ।
यस्तो छ संसदीय समितिमा ढुंगानाले पेश गरेको कार्ययोजना र प्रतिबद्धताहरु