Logo

रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर: मानव अधिकार आयोग



काठमाडौं,१ पुस । राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न र पीडितका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

आइतबार आयोगका प्रवक्ता सहसचिव डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै रूस र युक्रेनबीच भइरहेको युद्धका क्रममा नेपालीहरू विभिन्न गैरकानूनी बाटो प्रयोग गरी रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मुत्यु भएको, केही घाइते भएका र अझै पनि सयौँको सङ्ख्यामा नेपालीहरू रूस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी विभिन्न स्रोतबाट प्राप्त जानकारीप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

मानव अधिकार आयोगले प्राप्त जानकारीअनुसार युक्रेनी सेनाको आक्रमणमा परी रूसी सेनामा कार्यरत केही नेपालीको मृत्यु भएको, केही घाइते भई अस्पतालमा उपचाररत रहेका, केही नेपालीहरू विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको सङ्ख्यामा दुवैतर्फको सेनामा नेपालीहरू संलग्न रहेको बुझिन आएको उल्लेख गरेको छ ।

नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहेपनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने आयोगको ठहर छ ।

‘अतः युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म,संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कुटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन,मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउ धनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’आयोगले विज्ञप्तिमा भनेको छ ।



प्रतिक्रिया दिनुहोस्