Logo

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई आर्थिक सहयोग



रामपुर (पाल्पा), २ पुस । पाल्पाको रामपुरस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीले दुई लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वसहसचिव तथा यस विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले हजुरबुबा लोकनाथ र बुबा ज्ञानेश्वर पोखरेलको नाममा दुई लाख एक हजार एक सय ५५ बराबरको रकम सहयोगस्वरुप अक्षयकोष स्थापना गर्न विद्यालयलाई सहयोग गरेका छन्।

सो रकम विद्यालयमा अध्ययनरत असहाय छात्रवृत्ति कोषका रुपमा स्थापना गरी विद्यार्थीको पठनपाठनमा सघाउ पुग्ने उद्देश्यले सहयोग गरिएको सहयोगदाता पोखरेलले बताए । विद्यालयमा हालसम्म २० लाख ५८ हजारको रकमबाट अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिए ।

विद्यालयमा स्थापित अक्षयकोष रकममध्ये दिवाकर भक्तिप्रसाद भट्टराई स्मृति अक्षयकोष र रामनाथ पौडेल स्मृति अक्षयकोषबाट सामाजिक, राजनीतिक तथा धार्मिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने गरिएको छ । अन्य अक्षयकोषको रकमबाट विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न र असहाय विद्यार्थीलाई छात्रवृत्तिस्वरुप प्रदान गरिँदै आइएको छ । विद्यालयमा स्थापना भएका अक्षयकोषमध्येबाट हरेक वर्ष करिब एक सय विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिँदैआएको शिक्षक लेखनाथ शर्मा मरासिनी बताउँछन् ।

तीन तहमा विद्यालय चलाउने, हाल पूर्वप्राथमिक तह अन्तर्गत नर्सरीदेखि कक्षा २ सम्म दुई सय विद्यार्थी अध्ययनरत छन् । हाल विद्यालयमा करिब दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । प्राविधिकतर्फ तीनवर्षे कृषिबाली विज्ञान विषयमा समेत यहाँ पठनपाठन भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्