Logo

शंखर पोखरेलको दाबी: जनतामा पहिचानको मुद्दाको खासै प्रभाव देखिएन



काठमाडौं,३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कोशी नामको पक्षमा मतदान गर्ने अनि जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले अस्थिरता ल्याएको आरोप लगाएका छन् ।

मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो आरोप लगाएका हुन् । उनले मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रालाई पहिचानको नाममा अवरोध गर्ने प्रयास भए पनि जनतामा पहिचानको मुद्दाको खासै प्रभाव नदेखिएको दाबी गरेका हुन् ।

कोशी प्रदेश नामप्रति एमाले प्रतिबद्ध रहेको भन्दै उनले जनतामा गइसकेको एजेन्डा एमालेले नछाड्ने बताए । महासचिव पोखरेलले पहिचानको मुद्दा उठाउनेलाई व्यवस्थित रुपमा आफ्ना मुद्दालाई जनतामा लैजान आग्रह गरे । पहिचानको मुद्दा समाधान गर्ने एमाले नै भएको बताउँदै उनले जनताबाट अस्विकृत भएको एजेन्डा नबोक्न पनि आग्रह गरे ।

पहिचान पक्षधरले एमालेले यात्राका क्रममा स्वागत गरेर आफ्ना एजेन्डा राख्नुको साटो विरोध गरेर जनतासँगको दुरी बढाएको उनको भनाइ छ ।

धनकुटाको लेगुवामा पहिचान पक्षधरले एमालेको अभियानलाई अवरोध गर्न खोज्दा गोपाल किराँतलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

महासचिव पोखरेलले एमालेले अब हुलाकी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गने पनि जानकारी गराएका छन् । उनले भने, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’ तर हुलाकी राजमार्ग केन्द्रित यात्रा सुरु हुने मिति भने उनले बताएनन् ।



प्रतिक्रिया दिनुहोस्