काठमाडौं,५ पुस । राजधानीमा आजबाट सुरु भएको प्रधानमन्त्री महिला टी-२० क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो उद्घाटन खेलमा अर्को प्रादेशीक टिम मधेशलाई २८ रनले पाखा लगाउँदै विजयी सुरुवात गरेको हो ।
११८ रनको विजयी लक्ष्य पछ्याएको धेश निर्धारित २० ओभरमा ५ विकेट गुमाएर मात्र ८९ रनमा समेटियो । उसका लागि प्रतिमा साहले १५, पूजा महतोले ३५, र अनुराधाच चौधरीले २१ रन बनाउन बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ बागमतीकी अस्मिना कर्माचार्यले २ तथा मनिसा उपाध्यायले १ विकेट लिईन् । यसअघि सुरुवातमा ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा यसोधा विष्टको ४७ तथा अस्मिना कर्माचायको ३१ रनको मद्दतमा ११७ रन जोडेको थियो ।
पुस १८ गतेसम्म चल्ने प्रतियोगिता मूलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ । पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुँदैछ । यसअघि सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।
तर यस पटकबाट महिला खेलाडीले पनि धेरै खेल खेल्ने अवसर पाउने भएका छन् । लिग चरणमा सहभागी हरेक टोलीले एक अर्कासँग खेल्नेछ । लिगमा हरेक टोलीले ७-७ खेल खेल्नेछन् ।
लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।