काठमाडौं,५ पुस । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता तथा प्रदेश सरकारका मन्त्री कृष्णप्रसाद यादवले संघीय सरकारले प्रदेशलाई अघिकार दिन कञ्जुस्याईं गरेमा सिंहदरबार घेर्न आउने चेतावनी दिएका छन् ।
कांग्रेस मधेश प्रदेशको आजबाट सुरु भएको प्रदेश सम्मेदनलाई सम्बोधन गर्दै कांग्रेस मधेश प्रदेशका सभापतिसमेत रहेका यादवले संघले प्रदेशलाई अधिकार नदिँदा संघीयताको औचित्यतामाथि नै प्रश्न चिन्ह खडा भएको भन्दै संविधानले सुनिश्चित गरेका अधिकारहरु प्रदेशलाई हस्तान्तरण गर्न सरकारसँग पहल गरिदिन समेत पार्टी सभापति शेरबहादुर देउवासमक्ष आग्रह गरेका छन् ।
यादवले मधेसमा संघीयता नै नआएको पनि बताए। ‘मधेसमा संघीयता आएको आभाष भएको छैन’, उनले भने, ‘हामी एकदमै पीडित छौँ। मधेस हामीलाई सुनको अण्डा दिन सक्ने क्षमता भएको छ। तर संघले अधिकार नदिएर हामीलाई हेपिरहेको छ। त्यसैले हामी केन्द्र सरकारलाई दबाब दिन सिंहदरबार घेर्न जान्छौँ।’
मधेश प्रदेश सरकारले यसअघि नै प्रदेश प्रहरी ऐन र कर्मचारी समायोजनासम्बन्धी निर्देशिका जारी गर्न संघीय सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ । गत महिना यादवसहित मुख्यमन्त्री सरोजकुमार यादवलगायतका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर ३० दिने अल्टिमेटमसमेत दिएका छन् ।