Logo

सुदन किराँतीलाई मन्त्रीबाट तत्काल बर्खास्त गर्न भीम रावलको माग



काठमाडौं,६ पुस । नेकपा एमालेका नेता डा. भीम रावलले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् ।

बुधबार राजधानीमा भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएपछि उनको चौतर्फी आलोचना भईरहेको छ ।

उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रावलले पदबाट हटाउन माग गरेका हुन् ।मन्त्री किरातीले ‘क्रिश्चियनलाई नमान्ने संविधान विरोधी र देशद्रोही हुन्’ । भन्ने लगायत क्रिश्चियन धर्मको पक्षमा उत्तेजक अभिव्यक्ति दिएर साम्प्रदायिक घृणा फैलाउने चेष्टा गर्नु निन्दनीय भएको रावलको दाबी छ ।

उनले भनेका छन् ‘यस्तो गैरजिम्मेवार कुरा गर्नेलाई तत्काल मन्त्री पदबाट बर्खास्त गरियोस् । यथार्थमा संविधानको धारा ४ मा सनातनदेखि चलि आएको धर्म, संस्कृतिको संरक्षणु हुने प्रावधानको विरूद्धमा नेपालको संस्कृति खतम गर्ने चेष्टा गर्नेहरू नै संविधान विरोधी र देशद्रोही हुन् । वाह्य शक्तिको भक्ति गर्दै देश र समाजमा विद्वेष फैलाउने नै देशद्रोही ठहरिन्छ। नेपालको मौलिक धर्म-संस्कृति, कला, साहित्य र भाषामाथि आक्रमण गरी राष्ट्रिय अस्तित्वका विरूद्ध षडयन्त्र गर्नेहरू देखि देशभक्त नेपालीहरू सजग बनौं।देशको स्वाधीनता, स्वाभिमान र अस्मितामाथि प्रहार गर्नेहरूको विरोध गरौं’।

त्यस्तै नेता डा रावलले मन्त्री किरातीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न भन्दै लेखेका छन् के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किरातहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ? यस्ता प्रश्नको जवाफ चाहियो।

यता मन्त्री किराँतीले भने आफू कुनैपनि धर्म सम्प्रदायको विरोधी नरहेको भन्दै प्रष्टीकरण दिएका छन् । तर, पनि उनको विरोध भने रोकिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्