काठमाडौं, ७ पुष । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले देशमा धेरै सरकारहरु परिवर्तन भएपनि निकुञ्ज ऐन परिवर्तन नभएको टिप्पणी गरेका छन् । निकुञ्जलगायतका संरक्षणबारे दीर्घकालिन सोच राखेर ऐन तथा नियम बनाउनुपर्नेमा उनको जोड थियो ।
अहिले जंगलमा काठहरु कुहिएर गएको तर विदेशबाट काठ आयात गरिएको भन्दै उनले गुनासो पोखे । अहिले जाडोमा मान्छेहरु चिसोले कठ्यांग्रिएर मर्न बाध्य भएको तर छेउमै रहेको दाउरा प्रयोग गर्न ऐनले नदिएको उल्लेख गर्दै यस्तोमा मानवताको हिसाबले पनि काम गर्नुपर्ने उनको सुझाव छ ।
आज (शनिबार) काठमाडौंमा आयोजित अधिकारमा आधारित संरक्षणबारे गोष्ठीमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री महतोले यस्तो बताएका हुन् । उनले आफूले नेतृत्वको गरेको वन मन्त्रालय धेरै नै द्धिविधा (कन्फ्युजन) वाला मन्त्रालय रहेको पनि गुनासो पोखे । उनले अब धेरै नै परम्परावादी र विनाश गर्नेगरी भन्दापनि मध्यमार्गी बाटो अपनाएर जानुपर्नेमा जोड दिए ।