काठमाडौं,८ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटअन्तर्गतको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई हराउँदै लगातार तेस्रो जित निकालेको छ ।
कोशीले दिएको १३० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६९ रनमा समेटिएपछि कोशीले ६० रनको जित निकालेको हो । मधेशका लागि साना प्रभिनले २७ तथा आरती महतोले १८ रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कोशीका लागि सवनम राई र एलिसना खडियाले समान २ विकेट लिए । यो जितसँग कोशीले लगातार तेस्रो जित हात पारेको छ भने मधेश लगातार तेस्रो हार ब्यहोर्न बाध्य भएको छ ।
यसअघि कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२९ रन जोडेको थियो । उसका लागि राष्ट्रिय महिला टिमकी पूवृ कप्तानसमेत रहेकी रुविना क्षेत्रीले अर्धशतकीय पारी खेलिन् । ६४ बलको सामना गरेकी रुविनाले ९ चौका हिर्काउँदै ५७ रन जोडिन् ।
त्यस्तै अप्सरी बेगमले ४१ बलमा ७ चौकासहित ३९ रन थपिन् । सवनमा राई १६ रनमा नटआउट रहँदा लकिता राजवंशीले ६ रन थपिन । बलिङतर्फ मधेशकी मीना महतोले २ तथा सरस्वती कुमारी र पूजा महतोले समान १ विकेट लिईन् ।
कोशीले पहिलो खेलमा कर्णालीलाई १० विकेट र बागमतीलाई ८ विकेटले पराजित गरेको थियो । मधेशको यो लगातार तेस्रो हार हो । यसअघि मधेश एपीएफ र बागमतीसँग पराजित भएको थियो ।