काठमाडौं,९ पुस । प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटअन्तर्गत विभागीय टिम एपीएफले लगातार चौथो जित निकालेको छ ।
सोमबार भएको खेलमा एपीएफले कोशीलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थान कायमै राखेको छ । कोशीले दिएको ८५ रनको विजयी लक्ष्य एपीएफले १७ । ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । एपीएफका लागि इन्दू बर्माले ३६ रन जोडिन् । ३४ बलको सामना गरेकी उनले अविजिति रहँदै समान २ चौका र छक्का हिर्काइन् ।
त्यस्तै ज्योति पाण्डेले २४ रन थप्दा ओपनर सीता राना मगरले १६ रन थपिन् । कोशीले लगातार तीन खेलमा निकालेको जित चौथो खेलमा भने कायम राख्न सकेन । ४ खेलको समाप्तीमा ८ अंकसहित एपीएफ शीर्ष स्थानमा रहँदा कोशी ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।