काठमाडौं,९ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा बागमती प्रदेशलाई ६ विकेटले हराउँदै साविक विजेता सुदूरपश्चिम प्रदेशले तेस्रो जित निकालेको छ ।
बागमतीले दिएको ८८ रनको सामान्य लक्ष्प सुदूरले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरका लागि २२ बलको सामना गरेकी कविता जोशीले अविजित रहँदै २७ रन बनाइन् भने बिन्दू रावलले २८ रन थपिन् । त्यस्तै रुवि पोडारले ९ रन जोड्दा सम्झना खड्काले ७ रन थप्नि । सुदूरले १५ रन अतिरिक्त रुपमा पाएको छ ।
बलिङतर्फ बागमतीकी सोनि पाख्रिन र अस्मीना कर्मचार्यले समान १ विकेट लिए । ४ खेलको समाप्तीमा सुदूरको यो तेस्रो जित हो भने बागमतीले २ खेलमा जित र २ खेलमा हार भोगेको छ ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन जोडेको थियो । उसका लागि कञ्चन श्रेष्ठले १९, हेलिसा गुरुङले १६, सोनी पाख्रिनले १३ तथा सलिना सिलवालले १० रन थपिन् ।
बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउद र कविता जोशीले समान १ विकेट लिइन् ।