काठमाडौं, १० पुष । ०७९ को मंसिरको निर्वाचनलगत्तै गठन भएको पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार आज एक वर्ष पूरा भएको छ । यो एक वर्षको अवधिमा मुलुकमा दुई जना अर्थमन्त्री भए । प्रधानमन्त्रीको रूपमा प्रचण्डले शपथ लिँदा अर्थमन्त्रीको रुपमा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सपथ लिएका थिए ।
उनले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका थिए । तर, प्रधानमन्त्री दाहालले दुई महिना बित्न नपाउँदै राष्ट्रपतिको निर्वाचनमा एमालेको साथ छोडेर कांग्रेससहितको गठबन्धन बनाएपछि एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अर्थमन्त्रालयको बागडोर कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सम्हालेका हुन् । महत अर्थशास्त्रका ज्ञाता पनि हुन् ।
पार्टीमा सभापति शेरबहादुर देउवासँग उनको राम्रो केमेष्ट्री छ । यसअघि परराष्ट्र र उर्जा मन्त्रालयको कुशलतापूर्वक नेतृत्व सम्हालेका महतले अर्थमन्त्रालयको नेतृत्व भने पहिलोपटक सम्हालेका हुन् । उनी अर्थमन्त्रालयको नेतृत्वमा आसिन भएसँगै अर्थतन्त्रका जानकारहरुले खुशी व्यक्त गरेका थिए । उनले अर्थ मन्त्रालयको कमाण्ड सम्हाल्दा मुलुकको आर्थिक अवस्था एकदमै दयनीय अवस्थामा रहेको चर्चा थियो ।
तर, अहिले उनै अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारोन्मुख भएको दाबी गरेका छन् । रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा समेत उनले अहिले अर्थतन्त्रका सूचक सकारात्मक देखिएको दाबी गरेका छन् । तर, सोचेजस्तो परीणाम आउन भने नसकेको उनको पनि स्विकारोक्ति रहँदै आएको छ । उनी अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनको लागि वित्तिय अनुशासन कायम गर्न कठोर बन्ने गरेका छन् । देशलाई अहित हुने कुनैपनि काम उनले निष्तेज पार्ने गरेका छन् । कतिपयले उनलाई एकदमै कठोर अर्थमन्त्रीको रुपमा पनि प्रोजेक्ट गर्ने गरेका छन् ।
अहिले अर्थतन्त्र सही लयमा रहेको विज्ञहरुको पनि दाबी छ । विस्तारै निजी क्षेत्रपनि उत्साही बनेको छ। लगानीको वातावरण राम्रो बनेको उनीहरुको भनाई छ । वैदेशिक लगानीको पनि वातावरण बन्दैछ । सरकारले आगामी बैशाखमा लगानी सम्मेलनपनि गर्दैछ । यो अर्थमन्त्री महतकै योजना हो ।
मन्त्री महतले सार्वजनिक रुपमा देशमै उद्यमशिलताको वातावरण बनेको दाबी गर्दै आएका छन् । उनले भन्ने गरेका छन्–‘अहिले अर्थतन्त्र सही दिशामा छ । नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ । यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।” पछिल्ला केही महिना नेपालमा लगानीको वातावरण बिथोल्न खोजिएको भएपनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनको दाबी छ ।
उनले थपे,“लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ ।” मन्त्री महतले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको सुनाउने गरेका छन् ।
अहिले सेयरबजार विस्तारै माथि गइरहेको छ । घरजग्गा कारोबारमा सुधार भएको छ । यस्तै, उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन् । सरकारले पूर्वाधारमा लगानी केन्द्रिकृत गर्ने योजना अघि सारेको छ । यसो गर्न सकिए प्रशस्त मुनाफा आर्जन हुन्छ । सरकारले अथाह सम्भावनाको पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान गरिसकेको छ ।
अहिले विदेशी मुद्रा सञ्चिति सन्तुलित छ । विप्रेषण (रेमिट्यान्स) पनि सकारात्मक भएकोले अर्थतन्त्र सुधारोन्मुख रहेको पूर्व गभर्नरहरुले पनि दाबी गरेका छन् । मन्त्री महतले नेपाल राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन पनि गरिसकेका छन् । मन्त्री महतको बोल्ड डिसिजनका कारण अहिले नीतिगत व्याजदर घटेको छ । त्यसको प्रभाव बैंकहरुमा देखिन थालेको छ ।