Logo

क्यानले भन्यो- बजेट अभावका कारण २१ दिनभन्दा धेरै सिसिटिभी फुटेज स्टोरेज गर्न सकिएन



काठमाडौं,१० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणले २१ दिनभन्दा बढी विमानस्थलको सिसिटिभी फुटेज नरहेको विषयमा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

क्यानका महाप्रवन्धक प्रताप बाबु तिवारीले आज एक विज्ञप्ति जारी गर्दै बजेट अभावका कारण २१ दिनभन्दा धेरै सीसीटिभीको स्टोरेज राख्न नसकिएको बताएका छन् । विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा सिसिटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोरोनाका कारण बजेट अभाव भई अरु प्राथमिक क्षेत्रमा वजेट व्यवस्था गर्नु पर्ने भएकोले बजेट उपलब्ध नभएको जनाएको छ ।

क्यानले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ५०० भन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी गराएको छ । सिसिटिभी जडानको कार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गर्ने र त्यसको अपरेशन तथा सर्वेलेन्स नेपाल प्रहरीले गर्दै आएको पनि क्यानको भनाइ छ ।

अध्यागमन कार्यालय र भन्सार कार्यालयले पनि आ-आफ्नो क्षेत्रमा सिसिटिभी जडान गरी संचालन तथा सर्वेलेन्स कार्य गर्दै आएको क्यानले जनाएको छ । विमानस्थल भित्रको संदिग्ध गतिविधि सम्बन्धमा सूचना दिन नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत विभिन्न निकायहरू कार्यारत रहेका छन् ।

‘१६ टीवि क्षमताको ३६ वटा हार्डडिस्क जडान गर्न सुरुमा केही समय लागेको हो। सबै सिसिटिभिको स्टोरेज २१ दिन मात्र भएको भनी प्रतिवेदन र समाचारमा आएको विषयमा त्यस समयमा क्षमता विस्तारको कार्य सुरु गरेको नै तीन महिना नभएकोले विस्तार गर्ने क्रममा तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमताको भइसकेको छ भने बाँकीको पनि क्रमश बढ्ने क्रममा छ’। क्यानले भनेको छ

‘यस अघि बढीमा २९ दिन सम्म स्टोरेज क्षमता मात्र रहेने गरेकोमा ढिलै भएपनि यो वर्ष स्टोरेज क्षमता विस्तारको कार्य सम्पन्न भई सकेकोले सम्पूर्ण सिसिटिभी क्यामेराको रेकर्ड स्टोरेज ३ महिनाको हुनेछ । भन्सार तथा अध्यागन क्षेत्रमा जडान गरिएको क्यामेराबाट गरिने सर्भिलेन्स तथा तिनको रेकर्ड स्टोरेज तततत निकायलाई नै जानकारी रहन्छ। हाल ५०० को संख्यामा भन्दा बढी सिसिटिभी भएको विमानस्थलमा सामान्य प्राविधिक समस्या आउनु स्वभाविकै देखिन्छ र त्यस्ता समस्याको दैनिक रुपमा नै निराकरण गरिदै आएको छ । पछिल्लो समयमा यस्ता प्राविधिक समस्यामा कमी हुदै आएको छ’ । क्यानले विज्ञप्तिमा भनेको छ ।

साथै विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा सिसिटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोभिड– १९ का कारण बजेट अभाव भई अरु प्राथमिक क्षेत्रमा बजेट व्यवस्था गर्नु पर्ने भएकोले बजेट उपलब्ध हुन नभएको पनि प्रस्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्