Logo

पीएम कप क्रिकेट: एपीएफको अपराजित यात्रा कायमै, कर्णालीको लगातार पाँचौ हार



काठमाडौं,११ पुस । ओपनरद्धय ममता चौधरी र राजमती ऐरीको विस्फोटक ब्याटिङ प्रेरित विभागीय टिम एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० क्रिकेटमा विभागीय लगातार पाँचौ जित हात पारेको छ ।

एपीएफले दिएको १६१ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली निर्धारित २० ओभरमा ६८ रनमा समेटिएपछ एपीएफले ९२ रनको फराकिलो जित हात पारेको हो ।

कर्णालीका लागि त्रिसना विकले १९ तथा गौरी बोहराले १२ र रश्मी खड्काले १० रन बनान् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ४ तथा सुमन विष्टले २ विकेट लिईन् ।

यसअघि त्रिवि मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १६० रन जोडेको थियो । एपीएफका लागि विस्फोटक ब्याटिङ गरेकी ओपनर राजमती ऐरीले ५५ बलमा ९ चौका र २ छक्का हिर्काउँदै ६७ रनको विशाल स्कोर बनाइन् । अर्की ओपनर ममता चौधरीले पनि समान ५५ बलकै सामना गर्दै ८ चौका हिर्काउँदै ६२ रन थपिन् ।

रोमा थापा १४ रनमा अविवित रहँदा मञ्जु बोगटी १ रनमा नटआउट रहिन । एपीएफले बनाएको यो स्कोर प्रधानमन्त्री कपको यो संस्करणको हालसम्मकै सबैभन्दा ठूलो स्कोर हो ।

एपीएफ यस संस्करणको एकमात्र अपराजित टिम हो भने कर्णाली पनि यो संस्करणको एकमात्र जितविहीन टिम हो ।



प्रतिक्रिया दिनुहोस्