Logo

अन्तरिम सरकार नबनाए समानान्तर सरकार गठन गर्ने प्रभु साहको चेतावनी



काठमाडौं, ११ पुष । प्रभु साह नेतृत्वको आम जनता पार्टीले छुट्टै अर्ध सैनिक बल निर्माण गर्ने भएको छ । पार्टीको आईटी आर्मीको यही पुष १४ गते रौतहटको मौलापुरमा हुने राष्ट्रिय भेलामा छुट्टै सेना निर्माण गर्ने तयारी भैसकेको पार्टी कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।

उक्त भेलाले आईटी आर्मीको नयाँ नेतृत्वपनि चयन गर्ने उनको भनाई छ । उक्त भेलामा हजारौंको संख्यामा युवाहरुको सहभागिता रहने र भेलाको क्रममा तालिमसमेत दिईने जनाईएको छ । भेला भने एक सातासम्म चल्नेछ । आजपाले अहिलेको व्यवस्था असफल भैसकेको घोषणा गर्दै तत्काल अन्तरिम सरकार गठनको माग गर्दै आएको छ ।

आजपाका अध्यक्ष प्रभु साहले तत्काल अन्तरिम सरकार गठन गर्नुपर्नृे र मुलुकलाइृ नयाँ ढंगले अघि बढाउनुपर्ने आवाज उठाउँदै आएका छन् । उनले भने–‘ढिलो/चाँडो हाम्रो माग पूरा भएर छाड्छन्, यही तरिकाले दृेश अघि बढ्न सक्दैन् । तत्काल यो व्यवस्था खारेजी हुनुपर्छ । अन्तरिम सरकार गठन हुनुपर्छ ।’

उनले अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरेका छन् । मुलुकमा ठूला दलका ठूला नेताहरुको हालीमुहाली र एकछत्र राज चल्दै आएको भन्दै यसरी मुलुक अघि बढ्न नसक्ने साहको टिप्पणी छ । उनले भने,‘देशमा कहाँ लोकतन्त्र छ ? देश लोकतन्त्रको नाममा झन् झन बर्वादीको बाटोमा हिँडेको छ । अहिले लोकतन्त्रको नाममा दलतन्त्र हाबी भएको छ, र नेताहरुको लुटतन्त्र चलिरहेको छ । जनता जागरुक हुने बेला आइसकेको छ । त्यसैले हामीले यो व्यवस्थाले निकास दिँदैन भनेका छौं ।’

आजपाले तत्काल अन्तरिम सरकार गठन नभए समानान्तर सरकार चलाउनेपनि चेतावनी दिएको छ । आजपा आईटी आर्मीको पुष १४ गते हुने रौतटहको राष्ट्रिय भेलामा युवाहरुलाई शारिरीक तालिम प्रदान गर्नुको साथै सूचना तथा प्रविधिको पहँुच र उपयोगबारे पनि प्रशिक्षण गरिने पार्टी कार्यालय सचिव सापकोटाले जनाए ।

उनले भने,‘अहिले विज्ञान तथा प्रविधिको युग हो, हामी युवाहरुलाई यसको अधिकतम सही उपयोगको लागि संगठित रूपमा तालिम प्रदान गर्दैछौं । भ्रष्टाचारको विरुद्धमा हामीले यही संगठनमार्फत जनतालाई सुसुचित गराउनेछौं । अब हामी देशलाई पूर्ण रुपमा डिजिटल बनाउनेगरि अघि बढेका छौं ।’



प्रतिक्रिया दिनुहोस्